३०० वर्षअघि सुरु भएको थियो कोट लगाउने प्रचलन, रोचक छ इतिहास

युरोपमा कोटको इतिहासबारे लेखिएका लेखहरूमा उल्लेख भएअनुसार कोट १८औँ शताब्दीमा स्पेनको विभिन्न प्रान्तबाट सुरु भएको भनिएको छ। त्यो समय लगाइने डबल र सिंगल छातीवाला कोटलाई कामदार तथा किसानको पोशाकका रुपमा लिइन्थ्यो । पछि यसमा अन्य वर्गका व्यक्तिको पनि आकर्षण बढ्यो।

स्पेनमा मात्रै नभएर केही वर्षको अन्तरालमा बिस्तारै यस खालका कपडाको प्रयोग अन्य युरोपेली मुलक बेलायत, फ्रान्स, रुसतिर पनि हुनथाल्यो। त्यहाँ आफ्नै तरिकाले त्यसको विकास भयो। त्यो समयका युरोपेली व्यक्तिका तस्बिरहरू हेर्दा बाक्ला कपडाबाट बनेका, लामा र घुँडा भन्दामुनि आउने कोटहरू लगाउने गरेको देखिन्छ।

युरोपबाट भ्रमणमा जाने यात्रीको माध्यमबाट, अफ्रिका, एसिया र अन्य मध्यपूर्वी देशतिर पनि यो पोशाकको प्रचलन सुरुभयो। कोट शासक र कुलीन वर्गका व्यक्तिको पोशाकमा रुपमा विकास हुँदै गएको देखिन्छ ।

शासकले आफू मातहतका प्रशासकलाई पदोन्ति गर्दा वा कुनै कुरामा खुसी हुँदा कोट उपहार दिने चलन समेत विभिन्न देशमा थियो।

आधुनिक सुटको सुरुवात भने १८औँ शताब्दीमा इङ्ल्याण्डका ब्यू ब्रुमेलले गरेको मानिन्छ। सन १७७८ मा लण्डनमा जन्मिएका उनी फेसनमा निकै रुचि राख्थे । स्कुले जीवनदेखि नै फेसनमा निकै ध्यान दिन्थे ।

उनले कोट तथा पाइन्ट रंगी–विरंगी लगाउने खालको फेसनलाई बदलेर एकै रङको सादा अनि शरीरमा फिट खालको फेसनको सुरुवात गरेका थिए ।

ब्रुमेलले बुट तथा मोजाको शैली पनि परिवर्तन गरेका थिए । उनले आफ्नो शैलीलाई युरोपभर लोकप्रिय पनि बनाए । ब्रुमेलको फेसन लोकप्रिय हुनुभन्दा पहिला पश्चिमेली देशमा फ्रान्सका दरबारियाले लगाउने फेसनको जबरजस्त प्रभाव थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *